Skip to Content

Registrar of Voters

Registrar of Voters

सोनोमा काउन्टीकी मतदाता रजिस्ट्रार (मतदाता नामावली दर्ता गर्ने तथा निर्वाचन गराउने अधिकारी) Evelyn T. Mendez को वक्तव्य

Published: September 01, 2026

मतदाता रजिस्ट्रारको रूपमा, मैले अदालतमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेकी छु जसले संयुक्त राज्य अमेरिकाको हुलाक सेवाका नियमहरूसम्बन्धी कानुनी चुनौतीहरू र हामीले हाम्रा मतदाताहरूलाई कसरी सेवा प्रदान गर्छौं भन्ने कुरामा प्रभाव पार्न सक्छ । यी मामिलाहरू अझै पनि अदालतमा विचाराधीन अवस्थामा रहेकाले सोनोमा काउन्टीमा नयाँ नियमहरू लागू गर्ने हाम्रो कुनै योजना छैन ।

निर्वाचन प्रक्रियाहरूमा हुन सक्ने सम्भावित परिवर्तनहरूका बारेमा हालसालै प्रकाशित समाचार शीर्षकहरूले भ्रम सिर्जना गर्न सक्छन् भन्ने कुरा हामी बुझ्दछौं । क्यालिफोर्नियाका सेक्रेटरी अफ स्टेटबाट अन्य जानकारी प्राप्त गरेको अवस्थामा बाहेक नोभेम्बर 3, 2026 को आम निर्वाचनका लागि सोनोमा काउन्टीमा हुलाकमार्फत मतदान (भोट-बाइ-मेल) प्रक्रियाहरूमा कुनै परिवर्तन हुने छैन । हामी पारदर्शी, निष्पक्ष र सही हुनुमा निकै गर्व गर्छौं । हामी हाम्रा सबै मतदाताहरूलाई हाम्रा निर्वाचनहरू सुरक्षित र भरपर्दो छन् भन्ने कुरा सुनिश्चित गर्न हामीले अपनाएका निर्वाचन प्रक्रिया र विधिहरूमाथि विश्वास गर्न प्रोत्साहित गर्न चाहन्छौं ।

निर्वाचन द्रुत गतिमा नजिकिँदै गर्दा, हामी मतदाताहरूलाई हाम्रा आगामी मुख्य समयसीमाहरूका बारेमा स्मरण गराउन चाहन्छौं । सेप्टेम्बरको अन्त्यमा काउन्टी मतदाता सूचना निर्देशिकाहरू पठाउन सुरु गरिनेछ । हुलाकमार्फत मतदानका लागि मतपत्रहरू अक्टोबर 5 को हप्तामा हुलाकबाट पठाइनेछ । मतदान केन्द्रमै गएर समय अगावै भोट हाल्नका लागि हाम्रो नयाँ कार्यालय पनि अक्टोबर 5 देखि खुल्नेछ । हाम्रो कार्यालय हाल 3880 Brickway Blvd, Suite 200 मा अवस्थित छ । यो Charles M. Schultz-Sonoma काउन्टी विमानस्थलबाट पूर्वतर्फ एक माइलभन्दा कम दूरीमा रहेको छ र सोमबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म खुला रहन्छ । यस निर्वाचनका लागि हाम्रा 32 वटा मतदान केन्द्रहरू खुल्नेछन् जसमध्ये सात वटा अक्टोबर 24 मा र थप 25 वटा अक्टोबर 31 मा खुल्नेछन् । मतदान केन्द्रहरूको पूर्ण सूची, नक्सा, तिनीहरूको सञ्चालन समय र 23 वटा आधिकारिक मतपत्र सङ्कलन पेटिकाहरू रहेका स्थानहरू हेर्नका लागि हाम्रो वेबसाइट socovotes.com मा जानुहोस् ।

हुलाकमार्फत मतदान गर्ने प्रक्रिया एक लोकप्रिय विकल्प भएता पनि हामी तपाईंलाई आफ्नो मतपत्र बुझाउनका लागि हाम्रो मतदान केन्द्रहरूमध्ये कुनै एकमा आउन वा हाम्रा आधिकारिक मतपत्र सङ्कलन पेटिकाहरूमध्ये कुनै एक प्रयोग गर्न प्रोत्साहित गर्छौं । निर्वाचनको दिन बेलुका 8 बजेभन्दा अगाडि हाम्रा आधिकारिक मतपत्र सङ्कलन पेटिकाहरूमध्ये कुनै एकमा खसालिएका मतपत्रहरूलाई सधैं समयमै प्राप्त भएको मानिनेछ । यसको विपरित, हुलाक सेवामार्फत पठाइएका मतपत्रहरू गणना हुनका लागि निर्वाचनको दिन वा सोभन्दा अगाडिको पोस्टमार्क (हुलाक छाप) लागेको हुनुपर्छ र निर्वाचन भएको सात दिनभित्र प्राप्त भइसक्नुपर्छ । त्यसैले, निर्वाचनको दिन नजिकिँदै गर्दा हुलाक सेवाका सङ्कलन पेटिकाहरूमा मतपत्रहरू खसालिएमा समयमै पुग्ने कुराको ग्यारेन्टी हुँदैन ।

तपाईंले जुनसुकै विकल्प रोज्नुभयो भने पनि नोभेम्बर 3, 2026 का दिन निर्वाचन समाप्त हुने समय अगाडि नै आफ्नो मत हाल्न नबिर्सनुहोला !

भवदीय,

Evelyn T. Mendez
सोनोमा काउन्टी मतदाता रजिस्ट्रार

◄◄ Back to Sonoma County Registrar of Voters Homepage